6/4/11

गजल: मिलन हुन्नन् नदीका ती बगर मन पराएँ- अनुराग "अनुरागी मन"

मिलन हुन्नन् नदीका ती बगर मन पराएँ
साथमा पनि एक्लिने ती सफर मन पराएँ

ठेगान छैन प्रहारले कति घाउ लाग्लान्
निर्मम चिर्ने धारिला ती नजर मन पराएँ

अधर हेर्दै चुमु लाग्ने कस्तो क्रुर निशा
नियत समेत बदल्ने ती असर मन पराएँ

जमिन छोडी उडेका छन् झुटो पंख हाली
झर्छन आफैं नपुग्ने ती रहर मन पराएँ

हजार काँढा गुलाब यौटा फेरि कस्तो मोह
घोचाई भोगी दुखेका ती भ्रमर मन पराएँ

कोशिस जारी चारैकुना ओगटेर बस्ने
दिलमा ठाउँ छैन रे ती खबर मन पराएँ

कम्पन बिर्सी मुटु उतै हत्ते हाली बस्दा
हरेक प्राण वायुका ती अभर मन पराएँ


रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : जुन ३, २०११, दक्षिण कोरिया