प्रतिपल ममता बर्षाईरहने आमा कहाँ पाउँला
वात्सल्य आभाष दिलाईरहने आमा कहाँ पाउँला
तातेमा रमाएँ सहजै हुर्किएँ अब भएँ पर्देशी
यो गाह्रो बाटोमा समाईरहने आमा कहाँ पाउँला
घुर्कीले सन्किन्थें नखाई बस्दिन्थें आज भोक था'पाएँ
लाड र प्यारले खुवाईरहने आमा कहाँ पाउँला
मुसुक्क हाँसेर छातीमा टाँसेर मेरा सबै रिसानी
अमृत वाणीले फकाईरहने आमा कहाँ पाउँला
रातमा झस्किंदा अनिदो रहँदा मीठो लोरी गाउँदै
काखैमा निदरी बोलाईरहने आमा कहाँ पाउँला
अचेल भिन्न छु न्यास्रोले खिन्न छु आँशु फुल्न खोज्दैछ
म रुँदा नरुँदै हँसाईरहने आमा कहाँ पाउँला
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : मे २, २०११, दक्षिण कोरिया
(यो गजल मे ३, २०११ - मातातीर्थ औंशी (आमाको मुख हेर्ने दिन) को अवसर पारेर लेखिएको गजल हो)
No comments:
Post a Comment